- Home
- News
- General News
- कम जोखिम र उच्च प्रतिफल सहितको सुरक्षित लगानीमा जोड दिएका छौं
आजको हजार, भोलिको हजारौं हजार’ नाराका साथ एनआईसी एशिया क्यापिटलले पहिलो खुलामुखी योजना सञ्चालनको तयारी गरिरहेको छ । रू. ५० करोड आकार भएको एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड नामक यस योजना नेपालमै नयाँ प्रकारको हुने योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको भनाइ छ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी योजना सञ्चालनका लागि क्यापिटलले मङ्सिर १२ गतेदेखि इकाइ विक्री गरिरहेको छ । प्रस्तुत छ, योजनाको समग्र विशेषता र क्यापिटलको आगामी योजना लगायत विषयमा प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीसँग आर्थिक अभियानकी प्रजिता बुढाथोकीले गरेको कुराकानीको सार :
एनआईसी एशिया क्यापिटलले पहिलो खुलामुखी योजना सञ्चालनका लागि इकाइ विक्री गरिरहेको छ । यो योजना लगानीका लागि सुरक्षित छ त ?
हामीले सर्वसाधारणमा जारी गरिरहेको यो खुलामुखी सामूहिक लगानी कोष योजनामा संकलित अधिकांश रकम निश्चित आय हुने लगानीका क्षेत्रहरूमै लगानी गर्छौं । त्यसो हुँदा यसमा गरिने लगानी निकै सुरक्षित हुनेछ । योजनाको रकम निश्चित आम्दानी हुने उपकरणहरू अर्थात् योजनाको आकारको आधारमा स्थिर आय हुने क्षेत्रमा १५ प्रतिशत, बण्ड डिबेन्चर तथा मुद्राबजार उपकरणमा ६५ प्रतिशत र बाँकी २० प्रतिशत सार्वजनिक निष्कासन मार्फत जारी गरिने साधारण शेयर तथा सूचीकृत कम्पनीहरूको शेयरमा लगानी गरिन्छ । त्यसैले यस्तो लगानीबाट उचित मुनाफा आर्जन भई लगानीकर्ताले नियमित रूपमा प्रतिफल प्राप्त गर्नेछन् ।
५ करोड इकाइ विक्रीको अनुमति पाएकोमा पहिलो चरणमा १ करोड २५ लाख इकाइ मात्र विक्री गर्दै हुनुहुन्छ । बा“की इकाइ कहिलेसम्म कति चरणमा विक्री गर्ने तयारी छ ?
यो योजनाको आकार रू. ५० करोडको हो । पहिलो चरणमा रू. १२ करोड ५० लाख निष्कासन तथा विक्री खुला गरिए तापनि अधिकतम रू. ४२ करोड ५० लाखसम्म विक्री गर्न सकिनेछ । योजनाको कुल इकाइमध्ये १५ प्रतिशत अर्थात् रू. ७ करोड ५० लाख कोष प्रवर्द्धक एनआईसी एशिया बैंकले बीज पूँजीको रूपमा लगानी गरिसकेको छ । बाँकी रकम संकलन गर्न निष्कासन तथा विक्री खुला गरिएको हो । मङ्सिर १२ देखि छिटोमा मङ्सिर १६ र ढिलोमा मंसिर २६ गतेसम्म विक्रीको मिति तय गरिएको छ । उक्त मितिभित्र निष्कासन गर्दा सम्पूर्ण इकाइ विक्री नभएमा तीन महीनापछि पुनः विक्री खुला गरिनेछ ।
यसअघि पनि बजारमा १९ ओटा योजनाहरू सञ्चालनमा छन् । लगानीकर्ताले यो म्युचुअल फण्डमा लगानी गर्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
हाल हामीले सञ्चालन गरिरहेका दुईओटै बन्दमुखी सामूहिक लगानीकोषमा लगानी गर्ने इकाइधनीलाई योजना सञ्चालनमा आएको पहिलो वर्षदेखि नै उचित मुनाफा वितरण गर्न सफल छौं । हाम्रो पहिलो सामूहिक लगानी कोष योजना एनआईसी एशिया ग्रोथ फण्ड हो, जुन फण्ड सञ्चालनमा आउँदा नेप्से परिसूचक १४ सयको हाराहारीमा थियो । उक्त फण्ड सञ्चालनमा आएको पहिलो वर्षको अन्तमा परिसूचक घटेर १२ सय ६० को हाराहारीमा आउँदा समेत इकाइधनीलाई १० प्रतिशत लाभांश खुवाएका थियौं भने दोस्रो वर्ष १२ प्रतिशत लाभांश वितरण गर्न सफल भइसकेका छौं । त्यस्तै हाम्रो दोस्रो योजना एनआईसी एशिया ब्यालेन्ष्ड फण्ड सञ्चालन गरेको पहिलो ८ महीनामै ८ प्रतिशत लाभांश वितरण गर्न सफल भएका छौं । हालसम्म पहिलो बन्दमुखी योजनाका लागि २२ प्रतिशत लाभांश वितरण गरिसकेपछि पनि खुद सम्पत्ति मूल्य (न्याभ) १३ दशमलव शून्य ३ भन्दा माथि र दोस्रो योजनाका लागि ८ प्रतिशत लाभांश वितरण गरेपछि न्याभ १२ दशमलव ३१ भन्दा माथि कायम गर्न सफल भएका छौं । हामीले हाल सञ्चालन गरिरहेका फण्डको विगतको राम्रो ‘पर्फर्मेन्स’का कारण यो योजनामा पनि राम्रो सहभागिता हुनेमा पूर्ण विश्वास लिएको छु ।
एकैपटक विक्री नगरिएको यस योजनाको इकाइमा न्याभ गणना प्रक्रिया के हुन्छ ?
यो योजना खुलामुखी योजना भएकाले यसको आकार पनि थपघट भइरहन्छ । अन्य योजनाको जस्तै यस योजनाको कुल लगानीको मूल्यमा खर्च कटाई खुद सम्पत्ति मूल्य गणना गरिनेछ ।
एनआईसी एशिया क्यापिटलले यसअघि पनि दुई बन्दमुखी योजनाहरू सञ्चालन गरिरहेको छ । ती योजना र नयाँ योजनामा फरक के छ ?
यो योजना सञ्चालनमा आउनुअघि हाम्रो पहिलो योजना एनआईसी एशिया ग्रोथ फण्ड र दोस्रो योजना एनआईसी एशिया ब्यालेन्ष्ड फण्ड सञ्चालन गरिरहेका छौं, जुन बन्दमुखी योजना हुन् । पहिलो योजना ७ वर्ष र दोस्रो योजना १० वर्षमा परिपक्व हुनेछ । हाल निष्कासन गरिरहेको एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड खुलामुखी योजना भएकाले यो निरन्तर चलिरहन्छ । बन्दमुखी योजनाको इकाइको कारोबार धितोपत्रको दोस्रो बजारमार्फत गर्न सकिन्छ भने यो खुलामुखी योजनाको इकाइ कोष व्यवस्थापकको कार्यालय तथा तोकिएका वितरक मार्फत सहजै कारोबार गर्न सकिन्छ । खुलामुखी योजनाको प्रमुख विशेषता भनेको यसको इकाइको कारोबार रियल टाइममा रियल भ्यालुमा गर्न मिल्छ ।
खुलामुखी योजनामा लगानीकर्तालाई हुने फाइदा के कस्ता छन् ?
खुलामुखी योजनाको प्रमुख फाइदा भनेको आफूले लगानी गरेको रकम सहज रूपमा योजना व्यवस्थापक तथा तोकिएका वितरकमार्फत खरीदविक्री गर्न सकिने हो । हाम्रो फण्डमा संकलित अधिकांश रकम डेप्ट मार्केटमा लगानी गरिने हुँदा यस फण्डमा लगानी गर्दा स्थिर र नियमित आय प्राप्त हुने, लगानीमा कम जोखिम, लगानीे विविधीकरण, इकाइको खरीदविक्री गर्दा कारोबार शुल्क नलाग्ने, नियमित रूपमा निश्चित रकम थप गर्दै जान सकिने व्यवस्था तथा कारोबारको राफसाफ तुरुन्तै हुने जस्ता धेरै फाइदा छन् ।
यस क्यापिटलले सामूहिक लगानीकोष योजना सञ्चालनसँगै अन्य के कस्ता कार्य गरिरहेको छ ?
हामीले सामूहिक लगानी कोष सञ्चालनसँगै शेयर रजिष्ट्रार, निष्कासन तथा विक्री प्रबन्धक, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायत मर्चेण्ट बैंकिङ सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आएका छौं । साथै हाम्रो तेस्रो बन्दमुखी योजना एनआईसी एशिया सेलेक्ट–३० सञ्चालन गर्न स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पेश गरिसकेका छौं ।
कोरोना महामारीका बीच ती कार्यलाई कसरी निरन्तरता दिनुभएको छ ?
कोरोना महामारीको शुरुआती चरणमा नेपाल सरकारले नै बन्दाबन्दी घोषणा गरेकाले उक्त अवधिभर क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवा बन्द गरेका थियौं । विस्तारै बन्दाबन्दी खुकुलो हुने क्रम बढेसँगै कर्मचारीको स्वास्थ्य तथा कम्पनीको नियमित कामलाई ध्यानमा राख्दै ‘वर्क फ्रम होम’को व्यवस्था मिलाइएको थियो । तर, अहिले क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवा पूर्णरूपमा सुचारु गरिसकेका छौं ।
क्यापिटलले भविष्यका लागि कुनै नयाँ योजना बनाएको छ कि ?
हाल हामीले नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकमार्फत प्रदान गर्न सकिने सबै सेवा प्रदान गर्दै आएका छौं । आगामी दिनमा परम्परागत मर्चेण्ट बैंकिङ व्यवसायभन्दा केही नयाँ तथा आधुनिक तरिकाबाट मर्चेण्ट बैंकिङ व्यवसाय विस्तार गर्ने योजनामा छौं । हाल निष्कासन गरिएको फण्ड पनि नेपाली बजारमा केही नयाँ औजारको शुरुआत गर्नुपर्दछ भनेर डिजाइन गरिएको हो । मर्चेण्ट बैंकिङ व्यवसायका साथै इन्भेष्टमेण्ट बैंकिङ अन्तर्गत लगानी व्यवस्थापन, म्युचुअल फण्ड, संस्थागत परामर्श सेवा, एसआईएफ तथा बोर्डले तोकिदिएका अन्य क्षेत्रहरूमा क्यापिटलको सेवा विस्तार गर्दै जाने योजना लिएका छौं ।
Source: AbhiyanDaily
Latest Updates View All
-
18AugAgreement between NIC ASIA Capital and Rupakot Resort Limited for the company's public share offering.
-
11AugPress Release_ Dividend Decleration of NIC ASIA Capital Ltd._2082-083
-
17JulShrawan 1,2083_Regarding NID Update Online Based System
-
15JulCompletion of Personal Finance & Investment Masterclass
-
25Junआ. व. २०८३/०८४ मा क्यापिटललाई आवश्यक पर्ने वस्तु र सेवा आपूर्ति गर्ने फर्म/कम्पनीको सूचीकरण बारे सूचना।
-
25JunBuddhabhumi Nepal Hydropower – IPO Refund Announcement


