'आजको हजार, भोलीको हजारौं हजार हुने खुलामुखी योजना ल्याएका छौं' (अन्तर्वार्ता)

  • Home
  • General News
  • 'आजको हजार, भोलीको हजारौं हजार हुने खुलामुखी योजना ल्याएका छौं' (अन्तर्वार्ता)

'आजको हजार, भोलीको हजारौं हजार हुने खुलामुखी योजना ल्याएका छौं' (अन्तर्वार्ता)

27 Nov, 2020

एनआईसी एसिया क्यापिटलले मङ्सिर १२ गतेदेखि आफ्नो पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरेको छ । क्यापिटलले ‘एनआइसी एसिया डाईनामिक डेप्ट फण्ड’ को अधिकतम ४ करोड २५ लाख इकाई निष्काशन गरिरहेको छ । 

यस योजनाले निश्चित आम्दानी हुने 'इन्स्ट्रुमेन्ट' मा बढी केन्द्रित भएर लगानी गर्ने जनाएको छ । नेपालमा यस प्रकारको योजना पहिलो हो ।  

हामीले यसै सिलसिलामा यो कस्तो योजना हो, कसरी आम्दानी गर्छ, कसरी प्रतिफल प्रदान गर्छ, यसका फाइदा र यसका विविध पक्षबारे योजना ब्यबस्थापक एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीसँग कुराकानी गरेका छौ । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः 

खुलामुखी सामुहिक लगानी कोष योजना नै रोज्नुको कारण के हो ? 

विश्व परिदृश्य हेर्ने हो भने बन्दमुखी सामुहिक लगानी कोष योजनाहरु अप्रचलन (फेजआउट) हुने अवस्थामा पुगिसकेकोले बन्दमुखी योजना प्रति खासै आकर्षण देखिदैन । बन्दमुखी योजनामा भन्दा खुलामुखी योजना बढी गतिशिल प्रकृतिको विशेषत र नेपालको हकमा नयाँ लगानीको औजार भएकोले यसको महत्व र यसमा लगानी गर्दाका फाइदा बढी भएकोले पनि यस प्रकारका योजनाहरु नेपाली बजारमा संचालनमा ल्याउनु आजको आवश्यकता हो । सर्वसाधारणहरुलाई लगानी विविधीकरण गर्न सहज गर्ने तथा अबको भविष्य भनेको खुलामुखी योजनाको भएकोले यो नेचरको फण्ड रोजिएको हो । 

नेपालको अवस्था हेर्ने हो भने बन्दमुखी योजनाको इकाई खरिद गर्न चाहँदा पनि सहज रुपमा पाउने अवस्था छैन । चाहेको कित्ता पाई हालेपछि ब्रोकरको आवश्यकता पर्छ, ब्रोकर कमिशन लगायत तिर्नु पर्छ । तर खुलामुखीमा बेच्न चाहनेले तत्काल बेच्न सक्छ भने खरिद गर्न चाहनेले तत्काल खरिद गर्न सकिन्छ ।

हामीले सुरु गर्न लागेको खुलामुखी योजना नेपाल कै लागि नयाँ हो । हामीले ऋणपत्र, मुद्दती निक्षेप, सार्वजनिक रुपमा  जारी गएिको शेयरहरु जस्ता निश्चित प्रतिफल दिने औजारमा लगानी गर्दछौ । बजार जे जस्तो भए पनि तोकिएको निश्चित आम्दानी हुन्छ र जोखिम एकदम कम हुन्छ ।  यो नेपालको लागि एउटा नवीनतम प्रयोग हुने छ । हामीले यसको नामाकरण नै ’डेप्ट फण्ड’ गरेका छौ, हामीले ठुलो हिस्सा ’डेप्ट इन्स्ट्रुमेन्ट’ मै लगानी गर्छौ ।

हामीले धेरै वर्षको अध्ययनपछि यो योजना लिएर आएका हौ, सम्भावना देखेर नै आएका छौ । यस्ता योजना नेपालको बजारको लागि आवश्यक छ, यसले ’डेप्ट इन्स्ट्रुमेन्ट’को बजार चलायमान बनाउनेमा विश्वस्त छु । 

अहिलेको बजारमा ऋणपत्रको कारोबार एकदमै न्यून छ । यस्तो अवस्थामा ’डेप्ट इन्स्ट्रुमेन्ट’ मै लगानी गरेर प्रतिफल प्रदान गर्नको लागि कत्तिको सहज देख्नु भएको छ ? 

अहिलेको अवस्थामा खरिदकर्ता र बिक्रिकर्ता नभएर नै ऋणपत्रको कारोबार नभएको हो । तर हामीजस्तो संस्थागत लगानीकर्ताले ऋणपत्रमा फोकस गरेर खरिद बिक्रि गर्न थालेपछि तरलता बढ्छ । अहिले बिक्रि गर्न चाहनेले बिक्रि गर्न पाएको छैन । अब हामी पुल भएर काम गरेपछि सहजै खरिद बिक्रि हुने अवस्था आउँछ । विश्वभरको अभ्यास हेर्ने हो भने शेयरबजार भन्दा ’डेप्ट मार्केट’ ठुलो छ । नेपालमा पनि अहिले वाणिज्य बैंकहरुले अनिवार्य रुपमा ऋणपत्र निष्काशन गर्नु पर्ने ब्यबस्था छ । विकास बैंक र फाइनान्सले पनि ऋणपत्र निष्काशन गरिरहेका छन् । सरकारी बन्डहरु निष्काशन भईरहेको छ । नेपालमा पनि अब यसको बजार बढ्ने छ । 

दोस्रो कुरा, जब जब संकट आउँछ धेरै कम्पनीहरुले निश्चित आम्दानी हुने औजारमा लगानी गर्न खोज्छ । केही समय अगाडी धेरै बीमा कम्पनीहरुले ठुलो मात्रामा ऋणपत्र खरिद गर्न चाहेका थिए । उनीहरुले बजारमा नपाएपछि हामी म्युचुअल फण्डहरुसँग भएको ऋणपत्रलाई सामान्य भन्दा बढी मूल्य हालेर पनि खरिद गर्न चाहेका थिए । यसले नै ऋणपत्रको बजार रहेको देखाउछ । 

अहिले ऋणपत्रले दिने प्रतिफल सिंगल डिजिट मै छ, त्यहि ऋणपत्रको प्रतिफल खाएर तपाईहरुले डबल डिजिटको प्रतिफल कसरि दिन सक्नु हुन्छ ?

यसमा दुईवटा पाटो छन् । एउटा ऋणपत्रबाट आउने ब्याजको आम्दानी हो, त्यो निश्चित प्रतिफल हो, प्राप्त हुन्छ नै । तर हामीले त्यो ब्याजको मात्र नभई कुपन रेटको पनि मूल्य हेर्नु पर्छ । १ हजारमा ऋणपत्र किनेर ११ सयमा बेच्दा त्यसबाट पनि आम्दानी भईरहेको हुन्छ । यो दुइवटै पाटो हेर्नु पर्छ । 

अर्को कुरा हामीले ऋणपत्रमा मात्र लगानी गर्ने होईन । हाम्रो ६५ प्रतिशत लगानी बन्ड, डिबेन्चर, मुद्रा बजार उपकरणमा लगानी गर्छौ । २० प्रतिशत रकम अहिले जस्तै आईपिओ र दोस्रो बजारमा लगानी गर्छौ । त्यसबाट पनि प्रतिफल प्राप्त हुन्छ । बाँकि १५ प्रतिशत विभिन्न निक्षेप तथा मुद्दती निक्षेपमा लगानी गर्छौ । यसबाट निश्चित प्रतिफल प्राप्त हुने नै छ । के मा लगानी गर्ने भन्ने कुरा हाम्रो विवरणपत्रले निर्धारण गर्छ । नेपाल धितोपत्र बोर्डले विवरणपत्रलाई नै स्वीकृति दिएको हुनाले हामीले हाम्रो लगानीलाई विवरणपत्रमा उल्लेख भए अनुसार नै गर्नु पर्छ । हाम्रो फण्ड डाईनामिक प्रकृतिको भएकोले लगानीको अवसर अनुसार लगानी व्यवस्थापन गर्न समेत मिल्ने हुँदा डबल डिजिटको प्रतिफल वितरण गर्न सहजै सकिन्छ । 

 ऋणपत्रमा जोखिम कम नै हुन्छ, लगानीकर्ताले आफै लगानी गर्न सक्छ ? तपाईहरुको योजना मार्फत नै लगानी किन गर्न? 

ऋणपत्रको प्रति इकाई नै एक हजार पर्छ, १०० इकाई खरिद गर्नको लागि १ लाख आवश्यक पर्छ । साना लगानीकर्ताले एकै पटक ठुलो रकम लगानी गर्न सक्दैन । तर लगानीकर्ताले म्युचुअल फण्डमा १ हजार लगानी गरेर सहभागी हुन सक्छ । म्युचुअल फण्डको अवधारणा नै सानो सानो लगानीलाई एकत्रित गरेर ठुलो लगानी गर्ने भन्ने हो । न्युनतम १ हजार लगानी गरेपछि उसले त्यहि अनुसारको प्रतिफल पाउँन योग्य हुन्छ । 

अहिले तपाइहरुको योजनामा लगानीकर्ताले कहिले र कति प्रतिफल पाउन सक्छन् ?

हामीले लगानीकर्तालाई पहिलो वर्ष देखि पाचौं वर्ष सम्म कम्तीमा ९ प्रतिशत देखि ११ प्रतिशत सम्म प्रतिफल दिने प्रक्षेपण गरेका छौ । जुन मुद्दती निक्षेपबाट हुने प्रतिफल भन्दा बढी प्रतिफल हो । तर यस योजनामा लगानी गर्ने लगानीकर्ताहरुलाई उहाँहरुको आवश्यकता अनुसारको रकम चाहेको बेलामा कायम खुद सम्पत्ति मूल्यमा साहजै रुपमा खरिद बिक्री गर्न सक्ने हुँदा लगानीको उचित प्रतिफल लिन सक्नुहुनेछ । 

यस योजनाका थप फाईदा के छन् ?

खुलामुखी योजनाको प्रमुख फाइदा भनेको आफुले लगानी गरेको रकम सहज रुपमा योजना व्यवस्थापक तथा तोकिएका वितरकहरु मार्फत खरिद बिक्री गर्न सकिने हो । हाम्रो फण्डमा संकलित अधिकाशं रकम डेप्ट मार्केटमा लगानी गरिने हुँदा यस फण्डमा लगानी गर्दा लगानीकर्ताहरुले स्थिर र नियमित आय प्राप्त हुने, लगानीमा कम जोखिम, लगानीे विविधीकरण, इकाईको खरिद बिक्री गर्दा कारोवार शुल्क नलाग्ने, नियमित रुपमा निश्चित रकम थप गर्दै जान सकिने व्यवस्था तथा कारोवारको राफसाफ तुरुन्तै हुने जस्ता धेरै फाइदाहरु रहेका छन् । 

कतिको इकाई निष्काशन हुदै छ  ? कहाँ बाट कसरी खरिद गर्न सकिन्छ ?

पहिलो चरण ५० करोडको योजना  संचालन गर्नको लागि धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका छौं । जस मध्ये ७ करोड ५ लाख रकम कोष प्रबद्र्धक एन आई सी एशिया बैंकले बीज पूँजीको रुपमा लगानी गरिसकेको छ । बाँकी रु १० अंकित मूल्यको ४ करोड २५ लाख इकाई अर्थात रु ४२ करोड ५० लाख रकम बराबरको इकाई सार्वजनिक निष्कासन गर्न लागिएको हो । 

योजनाको इकाईहरु यही मिति २०७७ साल मंसिर १२ गते शुक्रबार देखि १६ गते मंगलबार सम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको छ । यस योजनामा लगानी गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा (CASBA) सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर प्रयोगकर्ताहरुले सहजै रुपमा मेरो शेयर मार्फत आवेदन दिन सक्नुहुने छ । 

नविन योजना ल्याउनु भएको छ, लगानीकर्तालाई के संदेश छ?

शेयरहरुमा मात्र लगानी गर्दा बजारमा धेरै उतारचढाव आउँदा व्यक्तिको प्रकृति अनुसार आत्तिने वा लोभी हुने हुन सक्छन् । तर जोखिम कम लिन चाहने लगानीकर्तालाई भने यो अत्यन्त उपयोगी हुन्छ । जो नियमित बचत गर्नु हुन्छ, उहाँहरुको लागि यो उपयुक्त हुन्छ । हाम्रो यसको नारा नै छ ’आजको हजार, भोलिको हजारौ हजार’ । यदि कसैले आज हजार लगानी गर्नु हुन्छ भने त्यो भोलिको धेरै वटा हजार हुने छ । किनभने यो जोखिम रहितको सुरक्षित लगानी हुन्छ । ढुक्क भएर लगानी गर्न आग्रह गर्छौ । अहिले हामीले संचालन गरेको म्युचुअल फण्डबाट पनि राम्रै प्रतिफल दिएका छौ । यसबाट पनि राम्रो प्रतिफल दिन्छौ ।

यो योजना कस्ता लगानीकर्तालाई बढी उपयुक्त छ ? 

यसमा हजार रुपैयाँदेखि ५ करोडसम्म लगानी गर्न सकिन्छ । तसर्थ यसमा साना देखि ठुला लगानीकर्ता, संस्थागत लगानीकर्ता, कम आम्दानी हुने, धेरै आम्दानी हुने, लगायत सबैले लगानी गर्न सक्छन् । आफै जोखिम लिन नचाहने र सुरक्षित ठाउँमा  लगानी गर्न चाहनेलाई यो बढी उपयुक्त हुन्छ । हामीले हरेक नेपालीलाई लगानी गर्न आह्वान गर्छौ ।

जोखिम कम हुने योजना ल्याउनु भएको छ । जोखिम कम बहन गर्नु पर्ने भएकोले फण्ड म्यानेजमेन्ट शुल्क कम किन नराख्ने ? 

केहि समय अगाडी धितोपत्र बोर्डले नै शुल्क घटाएर १.५ प्रतिशत कायम गरेको छ । अहिलेको अवस्थामा त्यसबाट घट्न सक्ने स्थिति देखिदैन । हुन सक्छ, अन्य थप म्युचुअल फण्डहरु आएपछि शुल्क पनि कम हुने छ ।  खुलामुखी योजना संचालन गर्दा व्यवस्थापन सुल्क अधिक हुने र नियमित कारोवार गर्नुपर्ने हुँदा अहिले राखिएको शुल्क निकै कम नै हो ।